विद्युतीय अपराधहरूमा किशोर किशोरीहरूको संलग्नता

नेपालमा हुने विद्युतीय अपराध तथा अनलाइन ठगीमा किशोर किशोरीहरूको संलग्नता दिनप्रतिदिन भयावह बन्दै गएकोले आजको डिजिटल युगमा यो बढ्दो चिन्ताको विषय बनेको छ । इन्टरनेट र स्मार्ट फोनको सहज पहुँचका कारण साना उमेरमै बालबालिकाहरू सामाजिक सञ्जाल, अनलाइन गेम तथा विभिन्न वेबसाइट प्रयोग गर्न थालेका छन् । घर परिवारबाट पर्याप्त मार्गदर्शनको कमी र साइबर सचेतनाको कमीको कारण ह्याकिङ, साइबर बुलिङ, ब्ल्याकमेलिङ, अनलाइन ठगी जस्ता गतिविधिमा जिज्ञासा वश वा पैसाको लोभमा उनीहरू साइबर अपराधमा संलग्न हुने गरेको देखिन्छ । विशेषतः किशोर किशोरीहरू चलचित्र र सामाजिक सञ्जालमा लामो समय बिताएर त्यसको नक्कल गरी आफूलाई अत्यन्त बुद्धिमान ठान्ने, साथीहरूको देखासिकी गर्ने, अरूको प्रभावमा सजिलै पर्ने, छिटो पैसा कमाउने सपना देख्ने प्रवृत्तिका कारण उनीहरूमा कडा मेहनत र इमान्दार तरिकाले कमाउनुको सट्टा छोटो बाटोबाट धनी बन्ने सोच विकास भएको हुन्छ । विशेषगरी १४ वर्षदेखि २८ वर्ष उमेर समूहका व्यक्तिहरू यस्ता गतिविधिमा संलग्न रहेको एक अनुसन्धानले देखाएको छ । यस किसिमको समस्यालाई नियन्त्रण गर्न अभिभावक, विद्यालय र समाज सबैको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकालाई साइबर सुरक्षाबारे शिक्षा दिनु, अनलाइन व्यावहारबारे सचेत गराउनु र उनीहरूको गतिविधिमा उचित निगरानी राख्न सके मात्र सुरक्षित डिजिटल वातावरण निर्माण गर्न सकिन्छ ।


कस्ता कस्ता विद्युतीय अपराधहरूमा किशोर किशोरीको संलग्नता रहेको छ त?

१. सामाजिक सञ्जालहरू नक्कली आइडी बनाउने:

सामाजिक सञ्जालमा नक्कली आईडी खोली समाजलाई भ्रमित पर्ने किसिमको गलत सूचनाहरूको प्रसारण गर्ने, प्रतिलिपि अधिकारको उल्लङ्घन गरेर सामग्रीहरू डाउनलोड वा शेयर गर्ने, व्यक्तिलाई ब्ल्याकमेलिङ गर्ने, अरुको चरित्रहत्या वा मानहानी हुने किसिमको पोष्ट गर्ने, थोरै लगानीमा धेरै नाफा कमाउन सकिने भनी झुटा प्रचार प्रसार गर्ने र गैरकानूनी सामग्रीहरू अनलाइनमा फैलाउने आदि अपराधहरू यो उमेर समुहको संलग्नता भएको देखिन्छ ।

२. सामाजिक सञ्जालहरू अनधिकृत पहुँच पुर्‍याउने

अरुको सामाजिक सञ्जालहरूमा अनधिकृत पहुँच पुर्‍याई गोपनीयता भङ्ग गर्ने, विभिन्न व्यक्तिहरूसँग रकम माग गरी ठगी गर्ने, झुटा सूचनाहरू प्रचार प्रसार गर्ने, अरुको गोप्य जानकारी वा तस्बिर लिएर ब्ल्याकमेलिङ गर्ने जस्ता अपराध संलग्न रहेको देखिन्छ ।

३. अनलाइनमा हैरान पार्ने जिस्क्याउने र ब्ल्याकमेलिङ

धेरैजसो अवस्थामा नचिनेका व्यक्तिहरूले किशोर-किशोरीहरूलाई अनलाइनमा साथी बनाएर बिस्तारै उनीहरूको विश्वास जित्छन् । त्यसपछि, कहिलेकाहीँ धम्काएर, कहिलेकाहीँ प्रलोभनमा पारेर, उनीहरूबाट गोप्य जानकारी वा तस्बिरहरू लिन्छन् । अनि, त्यही तस्बिर वा जानकारी सार्वजनिक गरिदिने धम्की दिएर पैसा वा अरु कुराको माग गर्ने कार्यमा संलग्न हुन्छन यसका साथै सामाजिक सञ्जालहरूमा अरुलाई जिस्क्याउने नियतले अनावश्यक म्यासेजहरू गर्ने, नकारात्मक कमेन्टहरू गर्ने, अश्लिल तथा झुटा सामग्रीहरू प्रचार प्रसार गर्ने गरेको देखिन्छ ।

४. पैसाको लोभमा अनलाइन ठगीमा संलग्न

पैसा कमाउने लोभमा सामाजिक सञ्जाल र अनलाइन गेम आइडीहरूको किनबेच गर्ने, अपरिचित व्यक्तिको छिटो प्रभावमा परि आफ्नो बैंक खातामा जम्मा भएको रकम अन्य खातामा रकमान्तर गर्ने कार्यमा समेत यो समुह संलग्न भएको देखिन्छ ।

५. अनलाईन सट्टेबाजी र क्रिप्टो करेन्सी कारोवारमा संलग्न

यो उमेर समुहका व्यतिहरू सजिलै अरुको कुरामा विश्वास गर्ने हुँदा सजिलै पैसा कमाउन वा पकेट मनि जोगाउन साथीहरूको लहलहैमा लागेर अनलाईन बेटिङ साइटहरू लगानी गर्ने, Bitcoin, Binance, USDT, Networking Investment जस्ता नेपालमा गैरकानुनी गतिविधिहरू संलग्न भएको देखिन्छ ।

६. अरुको सिस्टममा अनधिकृत पहुँच बनाउने

कुनै सरकारी वा गैरसरकारी संस्थाहरूको वेभसाइटमा वा कम्प्युटरका अनधिकृत पहुँच पुर्‍याउने, विवरणहरू र सोर्स कोडहरू चोरी गर्ने, गलत सूचनाहरू प्रसारण गर्ने, डिजिटल डस्पले बोर्डमा अनधिकृत पहुँच बनाउने कार्यमा समेत यो समुहको सहभागिता रहेको देखिन्छ ।

७. अनलाइन गेमहरू PUBG, Free fire जस्ता Online Game हरू

अनलाइन गेम खेल्ने क्रममा साथीहरू वीच अभद्र व्यवहार गर्ने, UC/MasterCard/Level Upgrade, Top-up गर्ने बहानामा अभिभावकको बैंक खाता प्रयोग गर्ने, आइडी किनबेचको बहानामा ठगी गर्ने कार्यमा संलग्न रहेको देखिन्छ ।

८. म्युल खाताको रूपमा प्रयोग भएर वित्तीय अपराधमा संलग्न हुने

सामाजिक सञ्जालमा चिनजान भएको व्यक्तिले किशोर-किशोरीहरूलाई सजिलै पैसा कमाउने लोभ देखाउँछन् । उनीहरूलाई आफ्नो बैंक खाता खोल्न वा credentials दिन भनिन्छ, अनि त्यही खाता प्रयोग गरेर अपराधीहरूले ठगी गरेको पैसा अन्य खातामा सार्छन । कतिपय किशोर-किशोरीले यो गैरकानूनी हो भन्ने थाहा नपाई कन पनि संलग्न हुन्छन्, भने कतिले चाहिँ अलिकति पैसाको लोभमा यस्ता कार्यमा संलग्न भएको देखिन्छ ।

नेपालमा किशोर-किशोरीहरू साइबर अपराधमा पर्नुको प्रमुख कारण अनलाइन सुरक्षा र साइबर अपराध सम्बन्धि कानून बारे जनचेतनाको अभाव हो । यसका साथै अभिभावकले प्रयाप्त समय नदिने र निगरानी नहुँदा उनीहरू लामो समय सामाजिक सञ्जालमा विताइ रहेका हुन्छन् । सोही कारण नचिनेका व्यक्तिहरूसँग मित्रता गाँस्छन्, जसले गर्दा उनीहरू फिसिङ, ब्ल्याकमेलिङ वा अनलाइन ठगीको शिकार हुन पुग्छन् र भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ ।

नेपालमा के कति कारणले किशोर किशोरीहरू साइबर अपराधमा संलग्न छन् त? नेपालमा किशोर किशोरीहरू साइबर अपराधमा संलग्न हुनुका केही प्रमुख कारणहरू यस्ता छन्:

१. डिजिटल साक्षरताको कमी ।

२. साइबर कानुन बारे जानकारी नहुनु ।

३. पारिवारिक रेखदेख र निगरानीको अभाव ।

४. स्मार्ट फोनको अत्याधिक प्रयोग र सामाजिक सञ्जालहरू लामो समय व्यतित गर्नु ।

५. साथीभाइको लहलहैमा लाग्नु वा सामाजिक सञ्जालमा आउने झुटा सामाग्रीको विस्वास गर्नु ।

६. अनलाइन गेमिङको लत ।

७. अभिभावक र बालबालिका बीचको संवादमा कमी, प्रयाप्त समय नपाउनु ।

८. कौतुहलता वा मनोरञ्जनका लागि गरिने प्रयास ।

९. भावनात्मक रूपमा कमजोर हुँदा गलत व्यक्तिको सम्पर्कमा आउनु ।

यी त भए नेपाल के कस्ता साइबर अपराधहरूमा किशोर किशोरीहरू के कति कारणले संलग्न भएका छन् भन्ने बारेमा बुँदागत जानकारी ।


स्क्यामरहरूले स्कुल वा कलेजका विद्यार्थीहरूलाई प्रभावमा पर्नको लागी उनिहरुको स्वतन्त्रता र कम जीवन अनुभवको कारण सहज र अनुकूल हुने हुँदा उनीहरूलाई लक्षित गरी योजना बनाउँछन् । त्यसैले बालवालिका वा किशोर किशोरी उमेर समुहका व्यक्तिलाई कस्ता किसिमका गतिविधि गैर कानुनी हो ? यस्ता गतिविधि गरेमा के कस्तो सजाय हुन्छ सो को समेत जानकारी विद्यालय स्तरमा नै गराउनु अपरिहार्य रहेको देखिन्छ । 
यस किसिमका अपराधहरूमा संलग्न हुनबाट किशोर किशोरीहरुलाई कसरी बचाउन सकिन्छ? सो वारेमा जानकारी निम्न छ :-



१. डिजिटल साक्षरता र सामाजिक सञ्जालको प्रयोग बारेमा जानकारी गराउने ।

२. मोबाइल र इन्टरनेटको प्रयोग समय निर्धारण र निगरानी गर्ने ।

३.अपरिचित व्यक्तिहरूसँग अनलाइनमा सम्पर्क नगर्न र व्यक्तिगत जानकारी सेयर नगर्न सिकाउने ।

४. बलियो पासवर्डको प्रयोग र साइबर सुरक्षाका उपायहरूका बारेमा जानकारी दिने ।

५. अभिभावक र बालबालिका बीच अनलाइन गतिविधिहरूका बारेमा खुला संवाद गर्ने ।

६. शंकास्पद लिङ्क वा सन्देशहरूमा क्लिक नगर्न र घटना भएमा रिपोर्ट गर्न सिकाउने ।

७. अनलाइन गेमिङमा हुने प्रलोभन र आर्थिक जोखिमका बारेमा सचेत गराउने ।

८. बालबालिकाका गतिविधिहरू भावनात्मक परिवर्तन आएको छ कि छैन ध्यान दिने ।

९. साइबर अपराध बारे आधारभूत जानकारी दिने र गलत कामको परिणाम बारे बताउने ।

१०. नेपालमा विद्यमान बिद्युतीय कारोबार सम्बन्धी ऐन सम्बन्धी जानकारी गराउने ।

११. यदि कुनै घटनामा संलग्नता भएको शंका लागेमा वा आफु स्वयम् अपराधको सिकार भएमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो वा नजिकको प्रहरीमा सम्पर्क गर्न सिकाउने ।

👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮

किशोर किशोरी भोलिका कर्णाधार हुन, उनिहरूको भविष्य सुरु हुदैँ गरेको अवस्थामा कुनै अपराधमा संलग्न भएमा भविष्यमा विदेश जान, रोजगारी पाउन वा कुनै काम गर्न प्रहरी रिपोर्ट अनिवार्य चाहिन्छ । त्यसमा नराम्रो हुने किसिमले कुनैपनि गतिविधिमा संलग्न नहुने वातावरण बनाउन घरपरिवार समाज र स्कुलले समेत साइबर अपराधको वारेमा जानकारी दिलाउन नितान्त आवश्यक छ ।

Post a Comment

Previous Post Next Post