"आहा !!!…. कति मिठो 😋 खिरीलो सर्लक्क परेको काँक्रो, कति राम्रा ति लटरम्म फलेका टमाटर, ठुला ठुला घोगा लागेका दुदिलो मकै, आहा..... हेर त कति मज्जाको देखिएको त्यो फाँट कति राम्रा धानका बालाहरु झुलेका छन्.. कति भाग्यमानी है किसानको जिवन..?" उमेशले मलाई हेर्दै भन्यो...
मैले पनि उसलाई जवाफ दिएँ साच्चै किसानको जिवन मानवहरुको जिविकोपार्जनको लागि अति नै महत्वपुर्ण हुन्छ । उनिहरुले आफ्नो रगत पसिना माटोमा सिर्जेर अनाज उत्पादन गरेको हुन्छ । उमेशलाई हाँम्रो गाउँमा उत्पादन भएको बस्तु र चैत बैशाखको धुपमा मुखै रसाउने गरि नुन खुर्सानी सँग खाएको काँक्रोले उसको मन छोएछ, "ओहो ! त्यसरी नै काँक्रो खेती गर्न पाए कसो हुन्थ्यो होला ?" मनमनै सपना सजाएको रहेछ । उमेशको विवाह भएको थिएन केही समयपछि वैवाहिक जिवनको सुरुवात गर्यो । केही समयको अन्तरालमा नयाँ घरजम सहित सबै परिवार काँक्रो खेतीमा लागे । आफु जस्तै मिहेनती श्रीमती र परिवारका अन्य सदस्यले काममा सघाए । शुरूमा आफ्नै बारीको पाटामा काँक्रा खेती गरे । बिस्तारै टमाटर, फर्सी, करेला, काउली, बन्दागोभी लगाएतका विभिन्न तरकारी बाली उत्पादन गर्न तरकारी उत्पादक केन्द्र स्थापना गरेर ब्यबसायिक रूपमै कृषिमा नैं लाग्यो । उसको बारीभरि लटरम्म काँक्रा फलेको छ । तर परिस्थितिले उसलाई यस पटक नराम्ररी थला पारिदियो । कारण कोरोना संक्रमणको भयले पुरै देश लकडाउन हुँदा उनको काँक्रा बारीको बारीमै रह्यो । टिप्न र बजार सम्म पुर्याउन सकिएन । "अब एत्तिकै त होलानी माटोमै उब्जिएको माटोमै मिल्ने भयो" उनले पुर्पुरामा हात राख्दै सुसेल्दै पसिना पुछ्यो । आफ्नै घर परिवारका ६ जनाको मिहिनेत र पौरख माटोमै बिलाएपछि उ रनभूल्ल परेको छ ।
कोरोना महामारीको कारण भएको असरको यो त एउटा सानो उदाहरण मात्र हो, यस्ता मारमा परेका किसानहरु प्रसस्तै रहेका छन् । ७० हजार लगानि गरेर खेतमा काक्रो लगाएको...एक त बेच्न नपाएर कुहिएको छ, बल्ल बल्ल बेच्नको लागि लगेको काक्रो नि ७/८ रुपैयाँ केजीमा बेच्नु पर्ने बाध्यताले गाडि भाडा, मल र विउँ किनेको पैसा नउठ्ने अवस्थामा छ । न उपभोक्ताले पैसा तिरेर खान पाएका छन् न किसानले उत्पादित वस्तुको उचित बजार मुल्य पाएका छन् । यस्तो अवस्थामा कसरी किसानलाई पेशा प्रतिको माया र जोश हुन्छ । हिजो प्रसस्त अन्न उब्जनी हुने जग्गामा आज महलहरु बनेका छन्, कारखानाहरु संचालनमा रहेका छन्, भारतबाट आयातित किटनाशक औषधीले माटोको उर्वरा शक्तिलाई कमजोर बनाएको छ । एक हल गोरुको रु३००० पर्छ, एकजना खेतालाको ज्याला रु १५०० पर्छ, खोलामा प्रसस्त पानी हुँदैन, मुहानहरु सुक्दै गएको छ । यो लगायत अन्य धेरै समस्याहरु छ किसानहरुलाई ....... एउटा ५ रोपनी खेतमा रोपाई गर्न कति लगानी होला, सोच्नुस् त? मानौं ५० हजार लगानी गराएर उब्जिएको धान घरमा ल्याउदा ३० हजार मुल्य बराबरको मात्र उब्जनी हुन्छ, बाँकी २० हजार त माटोमा नै हरायो !!.... यो त एउटा सामान्य उदाहरण मात्र हो ।
अन्य बाली नालीमा पनि लगानी गरेको भन्दा उत्पादनमा धेरै कमी आएको छ । आज भन्दा ८/१० बर्ष पहिला यस्तो अवस्था थिएन , बालीनालिहरु प्रसस्त हुन्थे, लगभग ५०% देखि ७०% अतिरिक्त नाफा हुन्थो अनि पो कृषि गरेको रमाईलो पनि लाग्थ्यो । हाल किसानहरुले ४०% घाटा सहँदा सहँदै पनि कृषि गर्न परेको अवस्था रहेको छ, यो मनसुनमा हुने गडबढी, वातावरणको तापक्रममा परेको प्रभावका साथै रासायनिक मल र किटनाशक औषधिको कारणले गर्दा पनि हुन सक्छ ।
सरकारले कृषी क्षेत्रलाई भनेर जुन बजेट बिनियोजित गर्छ यसरी बजेट बाढ्नु भन्दा किसानको लागि कुनै कृषि कार्यक्रम ल्याउने, मल, बिउ बिजन र उचित ज्यालादर निर्धारण गरिदिए र प्रत्यक वडा स्तरमा माटोको परिक्षण र उचित बालीनालीको छनौट गर्नको लागि कृषि प्राविधिकको व्यवस्था गरिदिए उचित हुन्थ्यो कि? २०७७ सालको सरकारको नीति तथा कार्यक्रममा कृषि सम्बन्धि धेरै कुराहरु आएको देखियो तर भोलि बजेट बिनियोजित गर्दा परेवालाई कनिका छरेको जस्तरी छर्दा, गरिब र बास्तविक किसानले त्यो सरकारी सहयोगहरु बाट बन्चित हुने देखिन्छ । सरकारी कार्यक्रम केवल संचार माध्ययमबाट सुन्न र देख्न मात्र पाउने हुन सक्छ, यस कुरामा सरकारको समयमै ध्यान जाओस्, उनिहरुलाई उचित सरकारी साथ र सहयोग मिलोस्......
