दाई पाँच रुपैयाँ दिनुहोस् न ............................


 

<<<<<<<<<<<>>>>>>>>>>>


मंसिर महिनाको मध्यतिरको समय कठ्याङ्गिदो जाडो, खुट्टाले भूईमा टेक्दा पनि यो मेरो खुट्टा होकी के हो, भन्नु पर्ने अवस्था, वरिपरी पुरै हुस्सुले घेरिएको, मानौ सुर्य भगवानलाई समेत हुस्सुलाई छेडेर धर्तिमा प्रकाश पुर्‍याउन हम्मे हम्मे परेको अवस्था.........


कोरोना महामारीको कारणले बन्द भएको पशुपतिनाथ मन्दिर अझ सम्म नि खुलेको थिएन, परैबाट भए पनि भगवानको दर्शन गर्ने मनसायले मन्दिर गएको म, फर्कने क्रममा एक्कासि आवाज सुने..... ए दाई पाँच रुपैया दिनुहोस् न???...... यसो फर्केर हेरेको त हात्तीछाप चप्पलमा पातलो कुर्ता सुरुवाल लगाएकी ७/८ बर्षकी जस्तो देखिने बालिका र च्यातिएको सुरुवाल र मैलो ज्याकेट लगाएको ४/५ बर्षको फुच्चे बालक दौडिदै आएर भने दाई पाँच रुपैया दिनुहोस् न ..... 

 यस्तो चिसोको समयमा पातलो कपडा लगाएर पैसा माग्नु पर्ने अवस्था किन आयो? के तिनिहरुका अभिभावक थिएनन् र? किताब कापी बोकेर पढ्न जान पर्ने बेलामा अरुसंग पैसा मागेर हिड्नु उनिहरुको बाध्यता होईन र? त्यो चित्र मेरो मनमा धेरै गहिरो गरी बसेको छ, हामी संगै अलिक पछाडिबाट आईरहेको २ जना दिदिहरु सल्लाह गर्दै हुनुहुन्थ्यो यस्तालाई के पैसा दिनु? हामीले भन्दा बढी त यिनिहरुले नै बढी कमाउँछन्, दिनमै दुई /तीन हजार सम्म कमाउँछन्..

पैसा कमाउनु राम्रो कुरा हो त्यो कमाएको पैसा बचत गर्न सकियो भने मात्र त्यसको महत्व हुन्छ, छोरा छोरीले मागेर ल्याएको पैसाले बाबु आमा रक्सि खाएर वा अन्य गलत काम गरेर सिध्याए भने त्यो के काम? मुख्य समस्या भनेकै गरीबीसंगै आउने अशिक्षा पनि हो । चिसो मौषममा पातलो कपडाको भरमा सन्तानले भिख मागेर ल्याएको सम्पतिको बचत गरिदिएर उचित शिक्षाको प्रवन्ध मिलाउन सके पो, पछिल्लो पिडिलाई भिख माग्न पर्दैन, “आज पायो खायो, भोली छैन पूर्पूरोमा हात”...!!! जन्मँदै कोही गरिब वा गैरगरिब हुँदैन, परिवेशले कसैलाई गरिब वा धनी बनाउने गर्छ । जहाँ अभाव छ, सिमित स्रोत र साधनहरु छन्, जो संग दैनिक उपभोगका बस्तुहरु खरिद गर्ने सामर्थ्य हुँदैन, आफ्नो रोजिरोटी पुरा गर्न ठूलो श्रम खर्चनु पर्ने हुन्छ, जसको सपना/उद्देश्य/आकाङ्क्षा साँघुरिएको हुन्छ, आफ्नो परिवार र सन्तानको चाहाना पुरा गर्न हदै सम्मको दुखलाई स्वीकार्दा पनि समस्या समाधान हुन सक्दैन त्यो अभाव नै गरिबीको अवस्था हो ।

यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी हो । गरिबीको अवस्थाले अरू धेरै अवसर र स्वतन्त्रतालाई ङ्याँक्ने गर्दछ । गरिबले स्तरीय शिक्षा लिन सक्दैन, कम शिक्षित भएको कारण गरिब चेतनाको आयाममा कमजोर हुन्छ । यही कारण समाजमा वर्गीय विभेद, जातिय द्वन्द, सामाजिक कुरिती, हत्या हिंसा, चोरी डकैती जस्ता कुराहरुले समाजिक विग्रह र अमानवीय भावना सिर्जना हुन्छ। खान, बस्नको कमी मात्र यसको स्वरूप होइन, शक्तिहीनता, आवाजहीनता, अन्यमा निर्भरता, हीनताबोध जस्ता मनोवैज्ञानिक पक्ष पनि यसमा जोडिएर आउँछन् । क्षमता विकास र सामाजिक पुँजी निर्माणमा गरिबहरू पछाडि परेका हुन्छन् । शिक्षा, सामर्थ्य र अन्य पक्षका कारणबाट उनीहरूको स्वास्थ्य कमजोर रहन्छ ।

गरीबको लागी सरकारले चालेका कदम र योजनाहरु सराहानिय छ तर त्यो रकम घुम्ने कुर्चीबाट तल आँउदैन, बास्तविक गरिब पिडितहरुलाई थाहै हुँदैन । पशुपतिमा मैले देखेको दृष्य एउटा सामान्यमात्र हो समाजमा त्यस्ता धेरै गरिब दुखिहरु छन् जसले ती बालबालिकाको भन्दा नि ज्यादा दुख भोगीरहेका छन्, “समृद्ध नेपाल सुखि नेपाली” को नारा जव पुरा हुन्छ जव त्यो भिख माग्ने सानी नानी र झुत्रे/फोहोर लुगा लगाउने बाबुको स्कुलको रजिष्टरमा नाम हुन्छ, स्कुल ड्रेसमा ब्याग बोकेर सरले दिएको गृहकार्य सम्झदै बाटोमा हिडेका हुन्छिन् ।




Post a Comment

Previous Post Next Post