विश्वास गर्ने कि नगर्ने ?

 

अझैपनि कतिपय गाउँ समाजमा मानिस बिरामी हुँदा धाँमीझाक्रीकोमा जाने चलन रहि आएको छ । आश्चर्य लाग्दो विषय के छ भने झारफूकबाट मात्रै पनि कतिपय सामान्य देखि गम्भीर रोग नीको भएको प्रशस्तै उदाहरणहरु ब्यक्तिहरुले बताउँछन् । ३ बर्ष देखि हाडजोर्नी नचलेर ओच्छ्यानमा थला परेको विरामीलाई झारफुक गर्दा निको भई हिडडुल गर्न सकेको घटना मेरै आखाँ अगाडी छ । मलाई कौतुहल भईरहेको छ कसरी यो सम्भव भयो? झारफूकबाट कसरी यस्ता रोगहरुको उपचार हुन्छ होला? किन जान्छन् मान्छे झारफुक गर्न? बच्चा जन्मदा देखि अन्तिम सास फेर्दा सम्म विसन्चो हुने वित्तिकै "मलाई चारगेडा अक्षता फाल्न लगाईदेउ न" यहि आवाज विरामीको मुखबाट सुनिन्छ, के अक्षता फाल्दैमा दैलामा आएको कालले छोडेर जान्छ होला त? म अच्मित परेको छु कालले छोड्यो या रोगले छोड्यो धुप अक्षताले बुझाउँदा बुझाउँदै कतिपयको रोग निको हुँदै जान्छ ।

केही बर्ष अघिको एउटा वस्तविक घटना हजुरहरुमाझ प्रस्तुत गर्दछु । तीन महिनाको दुधे बालक अचेत भएर सुत्केरी आमा रुँदै कराउँदै हुन्छिन्, गाउँमा सबैजम्मा हुन्छन् र एकजनाले बच्चाको नाडी समात्दै भन्छन् "हात गोडा सिताङ्ग छ, तिम्रो बच्चा बचाउन धेरै गाह्रो छ, तुरुन्त अस्पताल लगिहाँलौ" त्याहाँ झन कोलाहल हुन्छ । त्यो कोलाहल सुनेर झारफुक गर्ने दाजु पनि स्याँस्याँ गर्दै आईपुग्छन् र बच्चाको नाडी समाती भन्छन् पाँच मिनेट पर्ख कालो/पहेंलो अक्षताले बुझाएपछी दाजुले भन्छन् "नेपाले देउताले दुख दिएको हो म अक्षता उठाई दिन्छु, निको हुन्छ" भन्दै बच्चाको टाउकोमा अक्षताको पोको राखेर मत्र भट्भट्याउँदैमा बच्चाको आँखा चल्न थाल्छ र एकै क्षणमा रुन थाल्छझाक्रीले भन्छ "भोली एक पल्ट दोहर्याउन पर्छ" यो एउटा संयोग मिलेको हो की झारफुकले नै निको भएको हो ? म त्यो घटनाको प्रत्यक्षदर्शीको मनमा अझैपनि शंका उपशंका गुञ्जिरहेका छन् । यस्तो संयोग देखापर्नु भनेको एकादुई मा मात्रै हो । त्यती धेरै मान्छेलाई किन विश्वास छ त? किन वारम्बार झाक्रीकोमा जान्छन्

मन्त्र उच्चारण तथा तान्त्रिक प्रक्रियाबाट कोही आवाज पनि नसुनिने तरिकाले गर्छ्न त कोही नबुझिने गरी धुप घुमाउदैं चिच्याएर विमारीको उपचार गर्छन् । विमारीको शरिरमा वाधा गर्ने विर, वेताल, पिचाष, मसान, डंकीनी, मरमसान, नागनगीनी, भुतप्रेत, छेदभेद, वायुवतास आदीलाई लगान लागेको छ भनि पन्छाउने चलन छ । बुझाई सकेपछी धुपको खरानीको टिकोलाई नसुनिने गरी मन्त्रद्वारा फु-फु गरि फुकिन्छ र टिको लगाईदिएर चुट्की मारिन्छ । कतिपयलाई त झार्नु पर्छ भन्दै कुचोले वा रुद्राक्षको मालाले माथिदेखि तल सम्म बढार्छन्, खानामा अरुचि भएमा उल्टा खान्दिने, पानी दुध फुकेर खान्दिने जस्ता कार्य देख्दा आश्चर्यलाग्दो एवं अवैज्ञानिक देखिएता पनि विरामीले भने चमत्कारको रूपमा विश्वास गर्दै आईरहेका छन्।

एकजना विद्वानको अनुसार "हाम्रो मन मस्तिष्कमा उत्पन्न हुने प्रत्येक सोच एक्सनहरू सबै हाम्रो मानसिक तरङ्गमा भर पर्ने गर्छन् । हामीले गर्ने क्रिया र प्रक्रिया देखि शरिरको जैविक नियमितता सम्म यसले नै सुक्ष्म रूपले संचालन गरिरहेको हुन्छ । भुतप्रेत आदि अस्वभाविक दृश्यको अनुभूति एवं सपनाका चित्रण पनि मनबाट नै उत्पन्न हुने कुरा हुन् जसलाई हामी मनोविज्ञान भन्न सक्छौं । हामीलाई डर र चिन्ता भयो भने शरीर काप्ने, मुटुको धड्कन बढ्ने, पिसाब लाग्ने, गर्मी हुने वा पसिना आउँने जस्ता शारीरिक लक्षणहरु देखापर्ने गर्छन् । डर चिन्ता भनेको मनबाट हुने कुरा हो त्यसैले मनोविज्ञानले पनि शारिरिक प्रक्रिया तथा बायोलोजीकल अवस्थालाई नियन्त्रण गरिरहेको हुन्छ र शरीरमा परिवर्तन भैरहने रोग वा लक्षणहरुमा धेरै मात्रामा साइकोलोजिकल असर नै रहेको हुन्छ । यस अर्थमा पनि हामी यो बुझ्न सक्छौ कि झारफूक प्रक्रियाले मनलाई नीको बनाउँछ । 

तथापी पुर्खाले गर्दै आएको विस्वास ठिक हो या होईन भनी तुलना बिना नै विश्वास गर्नु एक किसिमको अन्धविश्वास नै हो । हामीले देखेका छौं हाम्रा पुर्खाले पहिला अस्पताल नहुँदा धामी झाक्रीबाट नै सबै रोक निको बनाएका थिए । त्यही परम्परामा मात्र हामी २१ औं सताव्दीमा आएर पनि भर पर्यौ भने हालत के होला ? मैले धेरै त्यस्ता दरिला रोगहरु झारफुकले निको भएको देखेतापनि विस्वास भने त्यती धेरै गर्न सक्दिन । आज ग्रामिण क्षेत्रका हजारौं ब्यक्ती अन्धविश्वासमा रुमलिएर अस्पताल नजादाँ ज्यान गुमाउन बाध्य छन् । गाउँघरमा जरो गाडेका यस्ता प्रवृत्ति अब सहरमा पनि खुलेआम रूपमा प्रचार प्रसारका साथ सुरु गरिएको छ । झारफुक तन्त्रमन्त्रको तुल र व्यानर नै राखेर विधिको प्रचारप्रसार गरिएको पाईन्छ । राज्यलाई करपनि तिर्न नपर्ने, लगानी पनि गर्न नपर्ने, दुईचार ओटा ढुङ्गा र वरिपरि देवी देवताको फोटो टाँसेर सहरमा खुलेआम ठगी धन्दा चल्दै आएको छ । बच्चा बिरामी भए, चोरी भए, कसैलाई टुनामुना  गर्न परे, मनमा असान्ती भए, शरिरमा कतै पिडा भए आदि जस्ता समस्या लिएर दैनिक हजारौं व्यक्ति झाक्रीले तोकेको रकम बोकी अड्डा खोज्दै दौडिरहेका हुन्छन् । रोग निको होस् या नहोस यति पैसा लाग्छ, कालो बोको, कुखुरा घाटमा लगेर काट्नु पर्छ भन्दै दैनिक हजारौं ब्यक्तिलाई ठगि रहेका हुन्छन् । बिभिन्न देवी देवताको नाममा झारफुक केन्द्र खोली कसैको कमजोरीको गलत फाईदा उठाएको समेत घटना हामी सामु ताजा नै छ । 

अन्त्यमा गाउँघरमा गरिने सामान्य झारफुक खासै ठूलो कुरा होईन, बिरामिको मनोभावना अनुसार उपचार गरानु पनि एक प्रकारको मनोचिकित्सानै हो । तथापी परिवर्तनशिल समाजमा अन्धभक्त भएर भूतप्रेत प्रतिनै विस्वास गरेर बस्दा ज्यान नै तलमाथी हुन सक्छ, एक पटक झारफूक गर्ने निको नभए  तुरुन्त अस्पताल जान सल्लाह दिने सम्वद्धी चेतना हुन आवश्यक छ । तर सहरी क्षेत्रममा भएको यस्तो ठगी धन्दा तुरुन्त बन्द गर्न र अनुमति बिना संचालनमा रहेका त्यस्ता सेवा केन्द्रको नाममा माताजी, पिताजी बनेर चरम अपराध गर्ने अड्डाहरुलाई तुरुन्त रोक्न आवश्यक छ ।

 

“विश्वास आफैमा गर्नुस तपाई नै झाक्री हो र तपाई नै डाक्टर”

“आत्मविश्वास सबै रोगको उपचार हो”



Post a Comment

Previous Post Next Post