सरकारी अस्पतालको सेवा प्रवाह


सरकारी अस्पताल भन्ने बित्तिकै हाम्रो मनस्थितिले सोच्ने गर्छ भद्रगोल मान्छेको भिडभाँड, समयमा डाक्टर/कर्मचारीहरु नआउने, झर्को फर्को गरेर बोल्ने, रिसाउने, बिरामी तथा कुरुवालाई अनावश्यक दुख दिने, जताततै फोहोर, राजनैतिक हस्तक्षेप, चिनजानको मान्छेलाई मात्र छिटो पालो र राम्रो हेरचाह गर्ने अरुलाई घण्टौं कुर्नु पर्ने । यस्ता यावत समस्याहरु हामी हरेक पल्ट बिरामी हुँदा वा कुरुवा बस्नु पर्दा सरकारी अस्पतालमा भोगेका हुन्छौ । “माल पाएर पनि चाल नपाएको” जस्तो बिशेषज्ञ चिकित्सक, प्रयाप्त साधन स्रोत र भौतिक पूर्वाधारको व्वस्थापन हुँदा हुँदै पनि कमजोर ब्यवस्थापनको कारण जनमानसमा नै सरकारी अस्पताल प्रति नकारात्मक छाप पर्न गएको छ । ग्रामीण क्षेत्रमा सुबिधा सम्पन्न अस्पतालहरु नहुनु र सहरी क्षेत्रमा उच्चतम जनसंख्याको चाप साथै सरकारी अस्पतालले स्रोत साधनको समुचीत व्यवस्थापन गर्न नसकेका कारण अधिकांश बिरामीहरु आफ्नो घरखेत सबै बन्दक राखेर भएपनि उपचारको लागी Private अस्पतालमा जान बाध्य भएका छन् । छिटो उपचार, मिठो र नम्र व्यवहार, सरसफाई र शान्त वातावरणमा उपचार गरिने निजी अस्पतालले अत्याधिक शुल्क असुलि सामान्य बिरामीको उपचारको लागी लाखौं खर्च गर्नु पर्ने वाताबरण सिर्जना गरिदिन्छन् । त्यसोभए निम्न आयस्रोत भएकाले कहाँ उपचार गर्ने त? निजिमा गयो पैसाको बाढी बगाउनु पर्ने, सरकारीमा गयो तीन महिना पछि पालो आउने, गर्ने के? सरकारी अस्पतालमा पनि निजीमा जस्तै समय समयमा बिरामीको रेखदेख, छिटो सेवा प्रवाह र नम्र व्यवहार भएमा बिरामीलाई निजि अस्पतालमा कुदाउदै लैजान पर्ने बाध्यता हुने थिएन की ? यसमा नेपाल सरकारको ध्यान जान आवश्यक छ ।

कतिपय अवस्थामा सरकारी अस्पतालले निमुखा र गरिब जनतालाई सहुलियत पूर्ण तवरबाट उपचार गर्दै आईरहेको छ, केही दिन अघि काम विशेषले चिकित्सा बिज्ञान प्रतिष्ठान बिर अस्पतालमा गएको थिए, त्यहाँ केही समय बिताउने क्रममा मैले देखेको दृष्य जस्ताको तस्तै प्रस्तुत गर्छुः- ८० बर्ष नाघेको एकजना बुढा मान्छे लठ्ठिको भरमा दाहिने हातले आफ्नो जिउ थेग्दै र बाँया हातमा श्रीमतीको पाखुरा समाउँदै ईमर्जेन्सीमा आईपुग्छन् । “डाक्टरसाब ! मेरो जहानको नसा फुलेर पाखुराबाट रगत आईरहेको छ म टाढाबाट आएको म संग पैसा पनि छैन, छिटो उपचार गर्दिनु पर्यो” बुढा बा ले हात जोड्दै सेतो कोट लगाएको मान्छेलाई बिन्ती गर्छन् । एकै छिन पछि उहाँको श्रीमतीलाई डाक्टरले बेडमा बस्न लगाउछन् र चेकअप गरेपछि बाजेलाई केही औषधी बाहिरबाट ल्याउन लगाउछन्, बाजे लठ्ठि टेक्दै बाहिर फार्मेशी तिर जान्छन्, केही बेर पछि ती बुढो मान्छे औषधि नलिई ईमर्जेन्सीमा नै आउँछन् । डाक्टरलाई हात जोड्दै औषधीको पैसा धेरै पर्दो रहेछ म संग पैसा छैन, तपाईहरुले मेरी जहानलाई बचाईदिनु पर्यो भनि आग्रह गरेपछि डाक्टरले कता-कता फोन गरेर निःशुल्क औषधिको ब्यवस्था गरी बाजेलाई लिन पठाईदिए । म पनि आफ्नो काम सकिएर कार्यालयतिर फर्कदै गर्दा मेरो मनमा धेरै कुराहरु खेल्यो यदी ती बाजे सरकारी अस्पतालको ठाउँमा कुनै निजि अस्पताल पुगेका थिए भने गेटबाट छिर्न समेत पैसा माग्थे होला सायद !  स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले बार्षिक अर्बौ रुपयाँको बजेट विनियोजन गरेको हुन्छ, नेपालका प्रख्यात डाक्टरहरुमध्ये अधिकांश सरकारी अस्पतालमा काम गरिरहेका छन् । निजि क्षेत्रको तुलनामा प्रयाप्त भौतिक साधन स्रोत भएता पनि proper logistic management को कमिको कारण सरकारी अस्पताल अस्तब्यस्त देखिन्छ । साधन स्रोतको समुचीत व्यवस्थापन गरि गरिब तथा विपन्न परिवारलाई निःशुल्क र अन्य बिरामीहरुलाई सहुलियतपूर्ण तवरबाट उपचार हुन सकेमा सरकारी अस्पताल सबैको पहिलो रोजाई बन्न सक्थ्यो की?

Post a Comment

Previous Post Next Post