साँझमा आँगनको कुनामा लुतो फाल्ने सरसामानको जोहो गरेर घरैपिच्छे लुतो फाल्ने उत्सव मनाईन्छ। उनिउ कागभलायो, कुकुरडाइनो, देबी सरो, पानीसरो, जयन्ती झार, कुरिलो, रातपाते, धसिङ्गरे जस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै जोर कागती, निबुवा, अम्बा, अनार, नसपाती, मकैको जरा सहितको बोट आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी बलिरहेको अगुल्टो वारी गाउँले , पारी गाउँले ………. हाम्रो घरको उडुस, उपिया लुतो लैजा है…..भनेर फ्याँक्ने गरिन्छ। लुतो फाल्न चाहिने वनस्पति बटुल्दा हामी धसिङ्गरेका बोट बढी ल्याउँथ्यौं । त्यसको पात आगोको रापमा पर्दा फोका निस्किएर पटपट फुट्थ्यो, जुन आवाज हामीलाई रमाइलो लाग्थ्यो । मसिना दाउरा दश-बाह्र वटा चाहिन्थ्यो । यी सबै सामानको जोरजाम साँझ पर्नु अगावै गरिसकिन्थ्यो कर्कलो डाडुमा पकाएर कर्कट देवतालाई भनेर चढाईन्थ्यो पूजा गरिसकेपछि बलिरहेका अगुल्टा लिएर आँगनको पर्खालमा चढ्यो र पल्लो गाउँका बासिन्दामध्ये कसैको नाम ठूलो स्वरमा उच्चारण गरी ‘ए फलाना… लुतो लैजा’ है…भन्यो । टोल–छिमेकमा नाम तोकेर लुतो पन्छाउने गरिन्छ, लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
बैज्ञानिक हिसाबले पनि असार भर खेतबारीमा काम गर्दा र विशेष गरी हिलोको कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन परम्परा अनुसार जडिबुटीहरू वालेर लुतो फाल्दा लुतो, दाद आदि चर्म रोगबाट मुक्ति पाउने विश्वास रहेको छ । साथै लुतो फालेपछि लामखुट्टेको एउटा खुट्टा भाँचिन्छ र लामखुट्टे कम आउँछ भन्ने समेत परम्परागत मान्यता रहेको छ ।तर पछिल्लो समय भने यो परम्परा विस्तारै हराउँदै जान थालेको छ, सहरी क्षेत्रमा त हराएकै छ भन्दा पनि फरक पर्दैन, गाउँमा समेत पहिलाको जस्तो रमाईलो कमै हुन थालेको छ ।
यो साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड लाग्छ,
आजकै दिनबाट महिलाहरु एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ ।
