डिजिटल भुक्तानीको परिचय र प्रयोग :
डिजिटल भुक्तानी भन्नाले कुनै पनि बस्तु वा सेवा उपभोग गरे बापतको रकमलाई भुक्तानी गर्दा भौतिक नोट वा पैसाको प्रयोग नगरी विद्युतीय माध्यमबाट भुक्तानी गर्नु भन्ने बुझिन्छ । प्राचिन समयमा वस्तुको विनिमयको लागी मुगाको माला, मोती, छालाको पैसा, धातुको मुद्रा, कागजी मुद्रा प्रयोग भएको एतिहासिक प्रमाणहरू रहेको छ, समयको काल खण्ड संगै हाल आएर भौतिक मुद्राको साथै डेविट/क्रेडिट कार्ड, QR भुक्तानी, Mobile Banking, Internet Banking जस्ता डिजिटल कारोबारको युगमा पुगेका छौं । हाल भौतिक मुद्राको कारोबारमा भन्दा पनि मानिसहरू डिजिटल कारोबारमा बढी आकर्षित भएको देखिन्छ ।
समयको बचत, शीघ्र भुक्तानी, रकम हराउने तथा लुटपाट/ चोरी हुने डर नहुने, कारोबारको रेकर्ड राख्न सजिलो, रकम निकाल्नको लागी बैंकमा चेक बोकेर जानुपर्ने झन्झटबाट मुक्त हुने, दैनिक घरायसी जनजीवनमा प्रयोग हुने विजुली, खानेपानी, इन्टरनेट, मोबाईल/टेलिफोनको रिचार्ज, घरभाडा लगायतको रकम भुक्तानी गर्नको लागी लामो समय लाईनमा समय खर्चनु पर्ने झन्झटबाट मुक्त हुने आदि प्रशस्तै फाइदाहरू डिजिटल भुक्तानीको प्रयोग मार्फत लिन सकिन्छ, हाल शहरको फुटपाथमा तरकारी बेच्ने, चिया पकाउने, रकम माग्ने ब्यक्तिले समेत QR मार्फत रकम लिने गरेको देखिएको छ, यो नेपालको परिप्रेक्षमा प्रविधिमा भएको युगान्तकारी उपलब्धी हो । प्राय धेरै व्यवसायीक पसलहरू, होटेल, रेस्टुरेन्ट, सार्वजनिक यातायातहरू, अस्पताल लगायतको सेवा प्रदायक संस्थाहरूमा पनि Digital भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । एकप्रकारले डिजिटल भुक्तानीको कारणले पारदर्शिता, वित्तीय अनुशासन, भौतिक नोट छपाइमा बचत, कार्यालयमा हुने विविध खर्चमा कमी हुनुका साथै आर्थिक कारोबारको रकम अध्यावधिक गर्न समेत सहज हुँदै भएको छ भने अर्को तर्फ समय अनुसार हामीले विद्युतिय आर्थिक कारोबार सम्बन्धी साक्षरता हासिल गर्न नसक्दा हाम्रो Software हरु Hack हुने, सामान्य प्रलोभनमा पर्दा मोटो रकम गुमाउन पर्ने अवस्थाहरू पनी आएको छ ।
व्यक्ति वा संस्थाले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा ध्यान दिनुपर्ने आधारभूत ज्ञान, सीप, व्यवहार तथा सो बाट उत्पन्न हुन सक्ने जोखिम प्रतिको सजगता, सुरक्षा लगायतका विषयमा ज्ञान हुनु नितान्त आवश्यक छ । हाल समाजमा जति वढी मात्रामा डिजिटल भुक्तानीको शुरुवात भएको छ, त्यति नै मात्रामा मानिसहरु दैनिक रुपमा ठगीका सिकारहरू भएका छन्, भनिन्छ “Digital World मा Online मार्फत हुने गतिविधिमा कुनैपनि Boundary हुदैंन” सोही अनुरुप एक देशबाट - अर्को देश, एक ठाउँबाट- अर्को ठाउँमा बसी विभिन्न अपराधिक गतिविधि गर्ने गिरोहहरूले व्यक्तिको सामान्य कमजोरीलाई पच्छ्याई ठूलो आर्थिक क्षती गरेको घटनाहरू हामी छँदै छ, Malware Attract, Phishing, Spoofing, Ransomware Attract, Crypto jacking जस्ता भाइरसहरू एक स्थानबाट इन्टरनेटको माध्यमबाट अर्को स्थानमा Attack गरी फिरौती रकम माग्ने गरेका छन् ।
डिजिटल भुक्तानीको माध्यमबाट समाजमा हुने आर्थिक अपराधहरू:-
हरेक व्यक्तिलाई आफ्नो काम सरल, छिटो, सहज रुपमा होस भन्ने चाहना हुन्छ, सोही अनुरुप मानिसले आफुले प्राप्त गर्ने सेवा तथा खरिद गरेको बस्तुको तिर्नुपर्ने रकम बैंक तथा वालेट खाता मार्फत सिधै भुक्तानी दिने गरेका छन् । व्यवसाय गर्ने व्यक्तिहरूपनि लाई दैनिक रुपमा सामान बिक्रि गरी जम्मा भएको रकमलाई बैंकमा गई लाईन बसेर रकम जम्मा गर्नपर्ने झन्झटबाट मुक्त हुन पनि व्यवसायीहरूले आफ्नो मर्चेन्ट खाताको QR राखेका हुन्छन् । समाजमा विभिन्न प्रकारका मानिसहरू रहेका हुन्छन, कतिपय अपराधिक मनस्थिति भएका व्यक्तिहरूले डिजिटल भुक्तानीको गलत तबरले दुरुपयोग गरी Online को माध्यमबाट एक ठाउँमा बसि बिभिन्न व्यक्तिहरूलाई ठगी गर्ने गरेका छन् । जसको केही उदाहरण निम्न छन् :-
- सामाजिक सञ्जाल मार्फत गलत सुचना वा प्रलोभनको विज्ञापन देखाई भाईरसजन्य लिङ्कमा क्लिक गर्न लगाई खातामा अनाधिकृत पहुँच पुर्याई मोबाईल बैंकिङ, वालेट वा Connect IPS को माध्यमद्वारा खातामा भएको सम्पूर्ण रकम ठगी गरेको घटनाहरू बेलाबेलामा सुन्दै आएका छौँ । यसबाट जोगिन अनावश्यक लिङ्क नखोल्ने, OTP कोडहरू सिएर नगर्ने, बलियो पासवर्डको प्रयोग गर्नुका साथै जता पायो त्यतैको वाईफाई प्रयोग नगर्दा पनि केही हद सम्म आफ्नो खातालाई सुरक्षित राख्न सकिन्छ ।
- कुनैपनि नागरिकताको फोटोकपीको आधारमा मात्रै पहिचान (Verification) बिना नै बैंक, वालेटमा खाता खोलिदिने तथा दुर संचार सेवा प्रदायक संस्थाहरुले सिमकार्ड जारी गरिदिने कारणले त्यस्ता नम्बर तथा खाताको प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी ठगी गर्ने गरेका छन । यसका लागि सम्बन्धित बैंक सेवा प्रदायकहरूले KYC Verification गर्दा व्यक्ति यकिन गरेपश्चात मात्र खाता खोलिदिने वा सिमकार्ड दिने गरेकोमा केही हद सम्म Online ठगीलाई नियण्त्रण गर्न सकिन्छ ।
- गलत तरिकाबाट जम्मा गरेको रकमलाई अपराधिक व्यक्तिहरूले रेमिट्यान्सको माध्यमबाट पठाउने गरेका छन् । कतिपय रेमिट्यान्सको कर्मचारीहरूले आफ्नो व्यक्तिगत खातामा ठगी गरेको रकम जम्मा गर्न लगाई सो रकम रेमिट्यान्स मार्फत अन्यत्र पठाइदिने गरेका छन् । जसले गर्दा सो रेमिट्यान्स र कर्मचारीहरू समेत कानूनी झमेलामा पर्ने गरेका छन् ।
- कतिपय पसलहरूले व्यवसाय दर्ता गरे तापनि व्यवसायीक कारोबारको लागी व्यक्तिगत खाताको प्रयोग गर्ने गरेको, अपरिचित ब्यक्तिले खातामा रकम जम्मा गरिदिन्छु मलाई क्यास दिनुस् भनेको भरमा Cash out गर्ने गरेको वा कसैले पठाएको झुटो Online Transitions कै आधारमा सामान पठाइदिने गरेको कारण पसलेहरू पनि कानूनी झमेलामा पर्ने गरेका छन् । Digital भुक्तानी दिदा वा लिदा यकिन गरेर वा नेपाल सरकारले जारी गरेको सूचनाको ख्याल गरी कारोबार गर्न आवश्यक देखिन्छ ।
- सामाजिक सञ्जालबाट चिनजान भएको व्यक्तिको झुटो आश्वासनमा परी मोबाईल बैंकिङ दिने, सिमकार्ड र बैंक खाता नै खोली ATM समेत इण्डिया कुरिअर गरेर पठाइदिने कार्य गर्दा अपराधिक गिरोहहरूले सो खातालाई ठगि गर्नको लागी प्रयोग गर्ने गरेका छन् त्यसको परिणाम स्वरुप खाता वाला निर्दोष हुँदा हुँदै पनि कानूनी कारबाहीमा पर्ने गरेका छन् । आफ्नो खाताको OTP, पासवर्ड लगायतको विवरणहरू आफ्नो जस्तो सुकै नजिकको व्यक्तिलाई पनि दिनु हुँदैन ।
- Facebook Market place, Instagram Page, Tiktok, Hamrobazar मार्फत सुलभ सस्तो मुल्यमा कपडा, जुत्ता, मोबाईल, क्यामेरा, फर्निचर लगायतको सामानहरू विक्रीमा राखी अग्रिम बैंक खातामा रकम जम्मा गर्न लगाई सामान नपठाइ ठगी गर्ने गरेको छन् । सामान खरिद गर्दा आधिकारीक साइटबाट किनेको हो कि होईन यकिन गर्नुका साथै सकभर सामान पाएपछि मात्र रकम दिने (Cash on Delivery) गर्नु पर्छ ।
- सेवाग्राहीको मोबाइलमा फोन गरी आफु आधिकारीक वित्तिय संस्थाको कर्मचारी बोलेको भनि अथवा फेसबुकमा बैंक तथा वालेटको फेक पेज बनाई विभिन्न बाहानामा OTP कोड लगायतको विवरणहरू माग गरी खातामा पहुँच पुर्याई रकम ठगी गर्ने, चिनेको साथीको फेसबुक ह्याक गरी OTP कोड लगायतको विवरण माग गरी खाताबाट रकम ठगी गर्ने गरेका छन् । यसका लागी हामिले आफ्नो व्यक्तिगत विवरणहरू कसैले फोन वा म्यासेज गर्दैमा दिनु हुदैन ।
- चिठ्ठा परेको, गिफ्ट पठाएको, थर मिलेको कारण शेष पछिको हकदार बनाई विदेशी खातामा रहेको रकम दिलाइदिने, बिना मिहेनत धेरै पैसा कमाउन सकिने, Online Job, कोठा खोजिदिने, लाइसेन्स, पासपोर्ट बनाइदिने, PTE परिक्षाको Date Book गरिदिने, Interview को Date अगाडि सारिदिने जस्ता विभिन्न प्रलोभन देखाई बैंक खातामा रकम जम्मा गर्न लगाई ठगि गर्ने गरेका छन् ।
- बिदेशमा पसिना बगाएर कमाएको धनलाई Remittance बाट नपठाइ थोरै रकम जोगाउने लोभमा हुण्डी (जुन देशको रकम हो त्यही देशमा ब्यक्तिलाई क्यास दिने र नेपालमा रहेको एजेन्टले सो बराबरको नेपाली रकम निजको खातामा जम्मा गरिदिने) मार्फत रकम पठाउने गर्दा विभिन्न कारणले ठगी गरिएका रकमहरू नेपालको बैंक खातामा जम्मा गरिदिने गरेका छन् ।
यी त केहि सामान्य उदाहरण मात्र भए यस बाहेक थुप्रै त्यस्ता घटनाहरू छन् जुन कतिपयले बाहिर ल्याउन चाहँदैनन् । यस्ता डिजिटल कारोबारले एकातिर एक ठाउँको रकमलाई अर्को ठाउँमा सहजै पुर्याउन मद्दत गर्छ भने अर्को तर्फ सबैमा वित्तिय साक्षरता नहुँदा विभिन्न कालखण्डमा ठगीको शिकार भएका छन् । सकभर यस्ता घटना हुनु भन्दा अगावै सजग बन्नु जरुरी छ ।
अनुसन्धानमा चुनौती:-
अनलाईन आर्थिक अपराधहरू हाल दिन प्रतिदिन बढ्दै गएको नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्क हेर्ने हो भने आ.व. २०७९/०८० मा १८१५ निवेदन दर्ता भएको थियो भने आ.व. २०८०/०८१ मा आएर ४१५४ ओटा र चालु आ.व. को दुई महिनामा मात्र १३५० ओटा भन्दा बढी आर्थिक अपराधको निवेदनहरू दर्ता भई अनुसन्धान भईरहेको छ । Online ठगीको घटना बढ्नुमा नागरिकहरूमा वित्तिय अपराध सम्बन्धी चेतनाको कमी र जो कोहीले भनेको कुरा छिटो विश्वास गर्नु मुख्य कारण देखिन्छ । राज्यले यस्ता घटनामा कमी ल्याउन स्पष्ट कानूनको व्यवस्था गर्ने, जनचेतना मुलक कार्यक्रम गर्ने, वित्तिय संस्थाहरूले यकिन गरेर मात्र KYC Verify गर्ने व्यवस्था मिलाउनु पर्छ । प्रायजसो यस्ता अपराधहरू अन्यत्र देशमा बसेर वा VPN/DNS Server को प्रयोग गरी गर्ने गरेको छन्, त्यसको लागी राज्यले नेपालमा प्रयोग गरिने इन्टरनेटलाई निगरानी तथा नियन्त्रण गर्न, सिमकार्ड जारी गर्दा सकभर एक व्यक्तिको नाममा धेरै सिमकार्ड दिने परिपाटीलाई बन्द गरिनु पर्दछ । Facebook, Instagram, Telegram, WhatsApp, Viber लगायतको सामाजिक सञ्जालहरूको सम्पर्क कार्यालय स्थापना गरी अनुसन्धानको क्रममा आवश्यक रहेको विवरणहरू समयमै उपलब्ध गराइदिने व्यवस्था मिलाउनु पर्छ । बैंक तथा वित्तिय संस्थाहरूलाई प्रहरीले अनुसन्धानको क्रममा माग गरेको विवरणहरू सिध्र र स्पष्ट रुपमा दिने व्यवस्था हुनु पर्छ त्यसका लागी सम्पूर्ण वित्तियसंस्थाहरूबाट हुने संकास्पद Transition हरूको अध्ययन विश्लेषण गर्नको लागी छुट्टै कार्यदल गठन गर्न पर्ने आवश्यक देखिन्छ । सबैले आफुले सहि तरिकाबाट जिम्मेवार बोध गरी काम गर्ने हो भने आर्थिक अपराध नियन्त्रण हुनुका साथै डिजिटल भुक्तानीबाट समेत सहि लाभ लिन सकिन्छ ।

